Techie IT
९ माघ २०८१, बुधबार

विश्वव्यापी जलवायु परिवर्तन मानवजातिको साझा शत्रु

जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकसित र विकासोन्मुख देशले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्दै अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण सहयोगको आवश्यकता छ ।


असामान्य र गम्भीर मौसमसम्बद्ध घटना यो गर्मीमा व्यापक बढेका छन् । उत्तरी चीनले लामो समयसम्म उच्च तापक्रमको सामना गरिरहेको छ, जबकि दक्षिण चीनमा भारी वर्षा भइरहेको छ । ३० जुनमा चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार याङ्त्जे, पर्ल नदी र ताइहुलगायत प्रमुख जलाधारमा आएको बाढीले ९८ नदीलाई असर गरेको छ । विश्वव्यापी रूपमा सन् २०२४ मा भारी वर्षा, बाढी, गर्मीका लहर, खडेरीजस्ता चरम मौसमी घटना बारम्बार घटिरहेका छन् । तेस्रो स्तरको आँधीबेहरीले अमेरिकामा कहर मच्चाइरहेको छ । त्यसैगरी घातक गर्मीको लहरसँगै चार महाद्वीपका सहर प्रभावित भएका छन् । यी घटनाले विश्वव्यापी रूपमा जलवायु चिन्तामा तत्काल काम गर्नुपर्ने देखाउँछन् ।

विश्व आर्थिक मञ्चको पछिल्लो विश्वव्यापी जोखिम प्रतिवेदनले आगामी दशकमा सशस्त्र द्वन्द्व वा सामाजिक विभाजनबाट चरम मौसमी घटनाले हुने विश्वव्यापी जोखिममा जोड दिएको छ । नतिजा यी बारम्बार घटिरहने घटनालाई सम्बोधन गर्न विश्वव्यापी सरकारबीच समन्वयात्मक प्रयासको व्यापक आवश्यकता छ । २० जुनमा राष्ट्रसंघीय विकास कार्यक्रमको सर्वेक्षणअनुसार विश्वव्यापी रूपमा ८० प्रतिशत उत्तरदाताले बलियो जलवायु पहलकदमीको वकालत गर्छन् ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकसित र विकासोन्मुख देशले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्दै अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण सहयोगको आवश्यकता छ । सन् १९९२ देखि जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय ‘फ्रेमवर्क कन्भेन्सन’ले समानता, साझा तर भिन्न जिम्मेवारी तथा सम्बन्धित क्षमतामा जोड दिएको छ । यसले उत्सर्जनका लागि विकसित देशका ऐतिहासिक जिम्मेवारीलाई मान्यता दिन्छ । यद्यपि अन्तर्राष्ट्रिय वार्तामा सकारात्मक मनोवृत्ति भए पनि अमेरिका र युरोपका विभिन्न देशले आफ्ना प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गरेका छैनन् । प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नहुँदा विश्वव्यापी हरित र न्यून–कार्बन रूपान्तरणमा बाधा पुर्‍याएको छ ।

सबैभन्दा ठूलो विश्वव्यापी अर्थतन्त्र र सबैभन्दा विकसित देशका रूपमा अमेरिकाले विश्वव्यापी जलवायु शासनमा महत्वपूर्ण भूमिका खेल्छ । अमेरिकाको प्रतिबद्धता र कार्यले अन्य विकसित राष्ट्रका लागि नमुनाका रूपमा काम गरेर अन्तर्राष्ट्रिय विश्वास बढाउनुपर्ने हो । यद्यपि पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुनुले विश्वव्यापी जलवायु परिवर्तनलाई सम्बोधन गर्न एक महत्वपूर्ण धक्का लगायो । सन् २०२१ मा बाइडेन प्रशासनअन्तर्गत पुनः सम्मिलित भए तापनि अमेरिकी जलवायु नीति राजनीतिक ध्रुवीकरणबीच अनिश्चित छ, जहाँ मौसमका मुद्दालाई पूर्णतया वैज्ञानिक चासो बनाउनुको साटो अत्यधिक राजनीतीकरण गरिन्छ ।

आर्थिक, कूटनीतिक वा चीन–सम्बन्धित सरोकारका तुलनामा जलवायु मुद्दा अमेरिकी राजनीतिक परिदृश्यमा महत्व त्यति धेरै छैन । यो उपेक्षा सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवारबीचको हालैको टेलिभिजन बहसमा स्पष्ट भएको थियो । अर्थात्, महत्वपूर्ण विश्वव्यापी प्रभावका बाबजुद जलवायु परिवर्तनले न्यून ध्यान पाएको थियो । न्युयोर्क टाइम्सले पृथ्वीको मौसममा बहसको सम्भावित प्रभावलाई जोड दिएको थियो, तर उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले यस विषयमा निकै कम समय बिताए । आफ्नो पुस्तक ‘द हिट विल किल यु फर्स्ट : लाइफ एन्ड डेथ अन ए स्कच्र्ड प्लानेट’का परिचित लेखक जेफ गुडेलले सामाजिक सञ्जालमा निराशा व्यक्त गर्दै ‘हामीले जलवायुभन्दा गल्फ खेलबारे धेरै समय बिताइरहेका छौँ’ भन्ने टिप्पणी गरेका थिए । यिनको टिप्पणीले अधिकांश अमेरिकी भावना व्यक्त गरेको थियो ।

जलवायु परिवर्तनसँग जुध्ने एक प्रमुख विश्वव्यापी खेलाडी रहेको युरोप अहिले आफ्नो दृष्टिकोणमा आलोचनाको सामना गरिरहेको छ । युरोपियन युनियनले चिनियाँ नयाँ ऊर्जा कम्पनीविरुद्ध अनुदानविरोधी अनुसन्धान सुरु गरेको छ र जुलाईदेखि चीनबाट आयात गरिएका शुद्ध विद्युतीय सवारी साधनमा शुल्कसमेत लगाउने योजना छ । बेलायती विद्वान् मार्टिन ज्याकले हालसालै ग्लोबल टाइम्समा युरोपले आफ्नो कार निर्मातालाई डिकार्बनाइजेसन (विकार्बनीकरण) को प्रतिबद्धतासाथ कसरी सन्तुलन मिलाउने भन्ने प्रश्न उठाएका थिए । यो प्रश्नले युरोपेली निर्णयकर्ताको इमानदारी र विश्वव्यापी जलवायु शासनलाई अगाडि बढाउने संकल्पलाई चुनौती दिन्छ ।

विश्वव्यापी जलवायु शासनलाई अगाडि बढाउन चीन सधैँ दृढ पहलकर्ता बन्दै आएको छ । हामीले दिगो विकासलाई स्वदेशमा मात्र प्रवर्द्धन गर्दैनौँ, हामी सबै पक्षसँग सक्रिय रूपमा सहकार्य गर्दै विश्वव्यापी जलवायु शासनमा स्थिरता पनि प्रदान गर्छौं । चीनले आफ्नो सन् २०२० को जलवायु कार्य लक्ष्य निर्धारित समयअगावै पार गरेको छ र विश्वव्यापी इतिहासमा सबैभन्दा छोटो समयमा कार्बन शिखरबाट कार्बन तटस्थता महसुस गर्नेछ । चीनले प्रवर्द्धन गरेको हरित एवं न्यून कार्बन परिवर्तन भनेको प्राविधिक र ऊर्जास्तरमा मात्रै होइन, तर समग्र सामाजिक प्रणालीका साथै अर्थतन्त्र, संस्कृति, वित्त र अन्य पक्षको रूपान्तरण पनि समावेश छ । यो विश्वव्यापी जलवायु परिवर्तनको प्रतिक्रियामा चीनले गरेको महत्वपूर्ण रणनीतिक निर्णय र काम हो ।

विश्वव्यापी जलवायु परिवर्तन सम्पूर्ण मानवजातिको साझा शत्रु हो । विश्वभरका देशले मिलेर काम गर्नुपर्छ जिम्मेवारी बाँडफाँड गर्नुपर्छ र सकारात्मक एवं प्रभावकारी कार्य गर्नुपर्छ । यो हाम्रो ग्रहको रक्षा मात्र होइन, भावी पुस्ताको कल्याणको लागि पनि हो । विश्वव्यापी सहयोगमार्फत मात्र हामीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न पर्याप्त प्रगति गर्न सक्छौँ, जसका लागि विशेषगरी विकसित देशले आफ्नो विवेकलाई फराकिलो बनाउँदै व्यावहारिक कदम चाल्न आवश्यक छ ।

१ जुलाईको ग्लोबल टाइम्सको सम्पादकीयबाट


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्